सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ। सभाखोलाको पानी उपयोग गरी निर्माण भइरहेको २१ दशमलव ५ मेगावाट क्षमताको आयोजनामा सुरुङ ‘ब्रेक–थ्रु’ भएसँगै निर्माण कार्यले महत्वपूर्ण चरण पार गरेको हो।
सभापोखरी–३ मा रहेको इन्टेक क्षेत्रदेखि पेनस्टक पाइप रहने स्थानसम्म चार हजार ११० मिटर लामो सुरुङ छिचोलिएको आयोजनाले जनाएको छ। मंगलबार आयोजित कार्यक्रममा अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ब्रेक–थ्रुको औपचारिक उद्घाटन गरे।
निजी क्षेत्रको पहलमा अघि बढाइएको यो आयोजनाको निर्माण कार्य सभापोखरी गाउँपालिका–३, ४ र ५ मा तीव्र गतिमा भइरहेको छ। आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तका अनुसार अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङ सम्पन्न गरी मुख्य सुरुङबाट ल्याइएको पानी एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसालिनेछ।
हालसम्म आयोजनाको करिब ७५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। उत्पादन हुने विद्युत् खाँदबारी नगरपालिका–१० स्थित सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिनेछ।
विसं २०७९ कात्तिक २३ देखि सुरु भएको आयोजनालाई आगामी वैशाख २३ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनाअन्तर्गत प्रसारण लाइनको करिब ६० प्रतिशत काम पूरा भइसकेको इन्चार्ज पन्तले जानकारी दिए।
करिब पाँच अर्ब रुपैयाँ लागत रहेको आयोजनाको मुख्य निर्माण जिम्मेवारी बैभव पावर नेपाल प्रालिले लिएको छ।
साथै, सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा बेलिब्रिज निर्माणजस्ता काम पनि सँगसँगै अघि बढेको छ।
तस्विर क्रेडिट: भविन कार्की, रासस

