काठमाण्डौ । प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट उठाइएको लाखौँ रुपैयाँ सरकारी खातामा दाखिला नगरी आपसी मिलेमतोमा हिनामिना गरिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार अस्पतालको ओपिडीसहित विभिन्न सेवा काउन्टरबाट संकलन भएको ३८ लाख ७७ हजार ७२४ रुपैयाँ सरकारी ढुकुटीमा जम्मा नगरी कर्मचारीहरूले निजी प्रयोगमा ल्याएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट कूल तीन करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ संकलन भएको सफ्टवेयर विवरणमा देखिए पनि आधिकारिक खातामा भने तीन करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको हो।
सफ्टवेयरमा देखिएको र बैंकमा जम्मा गरिएको रकमबीचको फरक रकम बदनियतपूर्वक हिनामिना गरिएको ठहर गर्दै आयोगले तत्कालीन अस्पताल प्रमुखहरू डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवमाथि समेत मुद्दा चलाएको छ। दैनिक आम्दानीको विवरण हेर्ने अधिकार हुँदाहुँदै पनि कम रकम दाखिला भएको थाहा पाएर मौन बसेको भन्दै उनीहरूले अन्य कर्मचारीलाई भ्रष्टाचारमा सघाएको अख्तियारको दाबी छ।
यस प्रकरणमा तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र लेखा प्रमुख अशोककुमार यादवविरुद्ध पनि जनही ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो कायम गरिएको छ। बिल काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डलमाथि २५ लाख ४७ हजार ४१७ रुपैयाँ, सहायक कर्मचारी सरस्वतीकुमारी यादवमाथि पाँच लाख दुई हजार ८१३, अजयकुमार मण्डलमाथि तीन लाख ७९ हजार २१, पूजाकुमारी यादवमाथि दुई लाख ८८ हजार २२९ र रोशनकुमार यादवमाथि एक लाख ६४ हजार ६५९ रुपैयाँ बिगो तोकिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनामा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेकाले फौजदारी कैद सजाय मागदाबी गर्न नमिल्ने भए पनि सरकारी बिगो असुलका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ।
भ्रष्टाचार निवारण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार मृतकको हक खाने व्यक्तिबाट ३८ लाख ७७ हजार ७२४ रुपैयाँ असुल गर्न माग गरिएको आयोगले जनाएको छ।

