काठमाण्डौ। सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकामा दोलखाको भीमेश्वर नगरपालिका निवासी २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका निवासी २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका निवासी १८ वर्षीय विप्लव राई छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूबाट पेस्तोल बरामद गरिएको छ। पक्राउ परेकालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले जानकारी दिए।

