काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथाममा प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म एचपीभी खोप लगाउने कार्यक्रम छ।
कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई लक्षित गरी खोप दिइनेछ। यसैगरी, गत वर्ष सञ्चालन गरिएको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइने व्यवस्था गरिएको छ।
खोप अभियान स्थानीय तहअनुसार फरक–फरक स्थानमा सञ्चालन हुने भएकाले नजिकको विद्यालय वा स्वास्थ्य संस्थाबाट जानकारी लिएर खोप लगाउन केन्द्रले आग्रह गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले कुनै हिचकिचाहट नगरी खोप लगाउन सबै लक्षित किशोरी तथा अभिभावकलाई आग्रह गरेको छ।

