काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित भएका छन्।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिएको हो।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ। सशस्त्र प्रहरी बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वयमा काम गर्नेछ।
नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही प्रमुख सुरक्षा जिम्मेवारी लिनेछ। निर्वाचनका लागि नेपाली सेना आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा परिचालित हुने सेनाले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।
सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई केन्द्रमा राखी आवश्यकताअनुसार सेनाका ‘वेस’ स्थापना गरिनेछ भने संयुक्त गस्तीसमेत सञ्चालन हुनेछ। सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार एक महिना अघिदेखि नै सेना फिल्डमा खटिएको बस्नेतले जानकारी दिए। निर्वाचन सुरक्षाका क्रममा सेनाले तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्म सेनाको भूमिका रहनेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिनेछ। मतदानका बेला सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ।
आसन्न निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन्। विद्यमान जनशक्ति अपुग भएपछि एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ। निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।
प्रहरीका अनुसार दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थल अति संवेदनशील सूचीमा छन्। सोहीअनुसार नियमित प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाइएको छ।
सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ सुरक्षाकर्मी र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जना परिचालित हुनेछन्। निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

