मुस्ताङ । कडा चिसो र प्रतिकूल मौसमका बाबजुद मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। विगतका वर्षको तुलनामा यस वर्ष जनवरी महिनामै मुस्ताङमा पर्यटकीय चहलपहल देखिएको हो।
मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरी महिनामा मात्रै १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार तीमध्ये सार्क राष्ट्रका १० हजार ४५ र अन्य मुलुकका ७७७ विदेशी पर्यटक रहेका छन्।
गत वर्ष सन् २०२५ को जनवरीमा मुस्ताङ भित्रिने विदेशी पर्यटकको संख्या चार हजार ३४६ मात्रै थियो। एक वर्षको अवधिमा पर्यटक आगमन ६ हजार ४७६ ले बढेको एक्यापले जनाएको छ। सन् २०२५ को जनवरीमा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य देशका ५१६ पर्यटक आएका थिए। यस आधारमा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ ६ हजार २१५ र अन्य मुलुकका पर्यटक २६१ ले वृद्धि भएको देखिएको छ।
एक्यापका अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म कुल एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको कार्यालय प्रमुख गुप्ताले बताए। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक बर्सेनि सहज बन्दै जानु पर्यटक वृद्धिको प्रमुख कारण बनेको उनको भनाइ छ। सन् २०२६ मा मुस्ताङमा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान एक्यापले गरेको छ।
हिउँदयामको अफसिजनमै पर्यटक बढ्न थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित देखिएका छन्। मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार अफसिजनमा समेत विदेशी पर्यटकको आगमन बढ्नुले पर्यटन व्यवसायमा नयाँ आशा जगाएको छ।
विगतमा अफसिजनका कारण बन्द रहने मुस्ताङका होटलहरू अहिले सञ्चालनमा रहेका छन्। सडक पूर्वाधारको विकाससँगै बाह्रै महिना पर्यटक आउन थालेकाले मौसमको प्रतिकूलताले व्यवसायमा खास असर नपरेको अध्यक्ष गुरुङले बताए।
पुसदेखि मुस्ताङको तापक्रम माथिल्लो भेगमा करिब २० डिग्री र तल्लो भेगमा माइनस १२ डिग्रीसम्म झर्ने गरेको छ। चिसोका कारण स्थानीय जनजीवन आंशिक रूपमा प्रभावित भए पनि पर्यटक आगमनमा भने खास बाधा नपरेको देखिएको छ।

