काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।
आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको छ। सो समूहमा नेपालसँगै आयोजक माल्दिभ्स, भुटान र श्रीलङ्का छन्।
प्रतियोगिताको समूह ‘बी’ मा भने साविक विजेता भारतसँगै बङ्गलादेश र पाकिस्तान समावेश छन्।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा भुटानको सामना गर्नेछ। त्यसपछि दोस्रो खेल मार्च २५ तारिखमा श्रीलङ्काविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेल मार्च २७ मा आयोजक माल्दिभ्ससँग हुनेछ।
सिङ्गल राउन्ड रोबिन लिगको आधारमा हुने समूह चरणपछि प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
यसैबीच, च्याम्पियनसिपको तयारीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणमा ८० खेलाडी छनोट गरिसकेको छ।

