काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सम्बन्धहरू निरन्तर निकटता र गहिरो मित्रतासहित अघि बढिरहेको बताएका छन्। उनले द्विपक्षीय सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउन जापानी नेतृत्वसँग मिलेर काम गर्न नेपाल तयार रहेको स्पष्ट पारेका छन्।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग मंगलबार जापानका प्रधानमन्त्री तकाइची सनायले शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहकार्यलाई आगामी दिनमा थप मजबुत बनाइने बताए ।
राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन्।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा व्यक्त गरे।
नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने पर्याप्त सम्भावना रहेको बताए। यसका लागि नेपालले व्यापार सहज बनाउने, विदेशी लगानी आकर्षित गर्ने र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यले कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको पनि उनले जानकारी दिए।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोगमार्फत नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको राष्ट्रपति पौडेलको भनाइ थियो। नेपाल अतिकम विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा जापानबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे।
बुद्धको शान्ति, स्थायित्व र भाइचाराको दर्शनमा विश्वास गर्ने दुवै देशका जनतालाई बुद्ध जन्मभूमि लुम्बिनीले जोड्ने सशक्त सेतुका रूपमा काम गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको सफलताको शुभकामना व्यक्त गरे।
शिष्टाचार भेटका अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापान र समग्र क्षेत्रकै लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपालमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएका छन्। निर्वाचनका लागि जापानले पर्यवेक्षकसमेत पठाउने जानकारी पनि उनले दिएका छन्।
प्रधानमन्त्री सनायले नेपाल र जापान लामो समयदेखिका घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थी, साथै जापानी नागरिकहरूद्वारा नेपालको हिमाल आरोहणजस्ता गतिविधिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको बताए। साथै उनले सूचना प्रविधि क्षेत्र र लोकतन्त्र प्रवद्र्धनका लागि जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन सोमबार जापान पुगेका हुन्।
भ्रमणका क्रममा उनले जापानी व्यापारिक समुदायलाई सम्बोधन गर्नुका साथै ७० औँ वार्षिकोत्सव समारोहलाई विशेष सम्बोधन गरेका थिए।
यसै क्रममा राष्ट्रपति पौडेलले मंगलबार जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेटसमेत गरेका हुन्।
चारदिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

