काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरूलाई लक्षित गर्दै गठबन्धन गरे पनि परिवर्तनको लहर रोक्न नसक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लामिछानेले परिवर्तन चाहने जनताको आकांक्षा अब कसैले दबाउन नसक्ने बताएका हुन्। जनविद्रोहले अस्वीकार गरिसकेको पुरानो संसदलाई षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।’
रविले निर्वाचनको परिणाम आफूहरू स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै तर जनविद्रोहले उखेलेर फालेको संसदलाई षड्यन्त्र, दबाब वा धम्कीका आधारमा फर्काउने कुनै पनि चलखेल अस्वीकार गर्ने चेतावनी दिएका छन्।
उनको अभिव्यक्तिलाई आगामी राजनीतिक समीकरण र जनमतको दिशासँग जोडेर हेरिएको छ।

