काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा सार्वजनिक हुन ढिलाइ हुने गरेको आरोप लगाएका छन्। आइतबार भक्तपुरमा सम्पन्न विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले परिणाम प्रकाशन प्रक्रियामा देखिने ढिलाइ तत्काल सुधार्नुपर्ने आवश्यकता रहेको बताए।
चार–पाँच लाख विद्यार्थीको नतिजा सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्नु शिक्षासँग सम्बन्धित निकायहरूको कमजोरी भएको उल्लेख गर्दै मन्त्री पुनले यसको दीर्घकालीन समाधानमा सरकार गम्भीर रहेको संकेत दिए।
उनका अनुसार विश्वविद्यालयहरू सम्बन्धन (एफिलिएसन) वितरणमै सीमित रहेपछि शिक्षाको गुणस्तर कमजोर बन्न पुगेको छ। गुणस्तरीय शिक्षाका लागि प्राध्यापकको भूमिकालाई सुदृढ गर्दै संस्थागत सुधार आवश्यक रहेको बताए।

