‘जेन–जी’ कोटामा जागिर बाँडफाँड : प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शमाथि बातै बात
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले ‘जेन–जी’का नाममा परिवारका सदस्यलाई जागिर दिलाएको रहस ्य खुलेको छ। आन्दोलनमा घाइते र शहीद परिवारलाई दिने भनिएको रोजगारीको अवसर आदर्शले आफ्नै श्रीमती, साली र भाञ्जीसहित नातेदारलाई बाँडेका हुन्।
सर्वोच्च अदालतमा करारमा ‘सफ्टवेयर सपोर्ट पर्सन’का रूपमा कार्यरत रहेका आदर्शलाई प्रधानमन्त्री कार्कीले विशिष्ट श्रेणी सचिवसरह सेवा–सुविधा दिने गरी स्वकीय सचिव नियुक्त गरेकी थिइन्। सर्वोच्चमा पेशी व्यवस्थापनमा चलखेल गरेको आरोप लाग्दै आएका आदर्शले प्रधानमन्त्री कार्यालयमै परिवारलाई व्यवस्थापन गरेका छन् ।
उनले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सचिवालयमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव बराबरको स्वकीय सहसचिव बनाउन सफल भए। त्यस्तै साली कमला श्रेष्ठ पनि सहसचिवसरहकै स्वकीय सहसचिवमा नियुक्त भएको खुलेको छ।
स्वकीय सचिवालयमा नायब सुब्बा सरह प्रशासन सहायकका रूपमा आदर्शका भाञ्जी पुनम श्रेष्ठ तथा अर्की नातेदार रविना श्रेष्ठ पनि नियुक्त भएको जानकारी स्रोतहरूले दिएका छन्।
यस्तै, जेन–जी युवा नेतृ रक्षा बमले आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्दै परिवारका सदस्यलाई दिइएको नियुक्ति खारेज गर्न सरकारसमक्ष आग्रह गरेकी छन्।

