काठमाडौँ — पत्रकार दीपेन्द्र खनिया आफ्नै निवासमा आइतबार मृत अवस्थामा भेटिएका छन्। बानेश्वर थापागाउँस्थित घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका उनको मृत्युबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार उनी बस्दै आएको घरको बरण्डामा शव भेटिएको सूचना आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। “प्रारम्भिक तथ्य संकलन भइरहेको छ, मृत्युको कारण परीक्षण तथा अनुसन्धानपछि मात्र स्पष्ट हुन्छ,” एसपी भट्टराईले बताए।
खनिया रेडियो–अडियोका सञ्चालक समेत रहेकाले उनको अकस्मात् मृत्युले सञ्चार क्षेत्रमा चासो र चिन्ता बढाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक प्रकृया अघि बढाइरहेको जनाएको छ।

