काठमाडौँ । नेपाली कांग्रेसमा आगामी महाधिवेशनबारे निर्णय टुंगो नलागेपछि आन्तरिक बहस तीव्र बनेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय समितिको कार्यकाल मंसिर मसान्तमा सकिँदै गएको अवस्थामा महाधिवेशन कहिले गर्ने भन्ने विषय कांग्रेसभित्र निर्णायक एजेन्डाका रूपमा उभिएको छ।
यसबारे धैरै धार उब्जिएको समयमा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भने महाधिवेशन अब टार्न नसकिने आवश्यकता बनेको स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।
उनका अनुसार पार्टीको संगठनात्मक क्षमतादेखि वैचारिक दिशासम्म “नयाँ पुनर्संरचना” आवश्यक छ, र त्यसको एकमात्र वैध माध्यम महाधिवेशन नै हो।
“५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको औपचारिक माग गरिसक्दा पनि निर्णय टारिनु कांग्रेसको कमजोरीको संकेत हो। अब पार्टीले ढिलो–छिटो होइन, अविलम्ब महाधिवेशन घोषणा गर्नैपर्छ,” डा. संग्रौलाले भनिन्।
उनले देउवा नेतृत्वप्रति प्रत्यक्ष टिप्पणी नगरी भने वर्तमान चरणमा पार्टी “अनिश्चितता र नेतृत्व अस्पष्टता” को चक्रमा प्रवेश गरेको उल्लेख गरिन्।
“अघिल्ला निर्वाचनमा संगठन कमजोर थियो, नेतृत्व स्पष्ट थिएन। अब फेरि त्यही बाटो दोहोर्याउने हो भने आगामी चुनावमा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ,” उनको चेतावनी छ।
यसबीच, देउवा समूहमै दुई धार देखिएका छन्। एक धार महाधिवेशनलाई चुनावअघिको अनिवार्य प्रक्रिया मान्दै अघि बढ्नुपर्ने पक्षमा छ भने अर्को धारले चुनावमाथि प्रत्यक्ष असर पर्न सक्ने भन्दै महाधिवेशन चुनावपछि गर्नुपर्ने तर्क दोहोर्याइरहेको छ।
तर डा. संग्रौलाले यी बहसहरूलाई “आवश्यक तर ढिलो” भन्नुका साथै पार्टी अब आन्तरिक विवादमा भन्दा संगठन सञ्चालन र वैचारिक दिशानिर्देशमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “कांग्रेसले नेतृत्व संक्रमणलाई डरको विषय होइन, अवसरको रूपमा लिनुपर्छ। महाधिवेशन भय होइन—पार्टी पुनर्जीवनको एकमात्र बाटो हो।”
विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा पनि सहमति नभएपछि केन्द्रीय समितिले पटक–पटक छलफल गरे पनि निष्कर्षमा पुगेको छैन।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी केही दिनमा केन्द्रीय समितिले लिने निर्णयले कांग्रेसको संगठनात्मक भविष्य, नेतृत्प्रति सार्वजनिक विश्वास र आगामी निर्वाचन रणनीतिमा निर्णायक प्रभाव पार्नेछ।
चिन्ताजनक ढंगले बढिरहेको अनिश्चितताबीच डा. संग्रौलाको खुलेको धारणा अब पार्टीभित्र महाधिवेशन दबाबलाई झनै बलियो बनाइरहेको देखिन्छ।

