काठमाडौँ — सरकारले नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सुरु गरेको सामाजिक सुरक्षा कोषमा संकलन हुने रकम झण्डै एक खर्ब नजिक पुगेको छ। कोषका अनुसार हालसम्म जम्मा योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँ भएको छ।
कोषमा सूचीकृत रोजगारदाता २२ हजार ३०९ पुगेका छन् भने सूचीकृत योगदानकर्ता संख्या २६ लाख ४१ हजार १८९ पुगेको छ। कोषले हालसम्म विभिन्न शीर्षकमा १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको जनाएको छ।
दाबी भुक्तानी विवरणअनुसार औषधि उपचार, स्वास्थ्य तथा मातृत्व शीर्षकमा दुई अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ रुपैयाँ, दुर्घटना तथा अशक्तता दाबीमा २२ करोड ८६ लाख ५३ हजार ४७५ रुपैयाँ र आश्रित परिवार सुरक्षा दाबीमा २९ करोड ७ लाख ७२ हजार ११६ रुपैयाँ खर्चिएको छ। अवकाश दाबी रकम सबैभन्दा धेरै, १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ रुपैयाँ रहेको कोषले जनाएको छ।
पछिल्लोपटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत अनिवार्य रूपमा कोषमा सहभागी हुनुपर्ने व्यवस्था लागू भएपछि योगदानकर्ताको संख्या तीव्र रूपमा बढेको बताइएको छ। स्वरोजगार श्रमिकदेखि उद्योग—प्रतिष्ठान तथा संघ–संस्थामा कार्यरत श्रमिक सबै कोषमा सहभागी हुन सक्छन्।
कोषमा नियमित योगदान गर्नेले औषधोपचार, पेन्सन, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउने व्यवस्था छ। योगदान रकम बढ्दै गएसँगै कोषलाई थप प्रभावकारी बनाउन नयाँ तथा सिर्जनशील योजना ल्याउनुपर्ने मागसमेत उच्च रूपमा उठ्न थालेको छ।

