काठमाडौँ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस पुष्टि भएसँगै नेपालमा पनि यसको जोखिम उच्च रहेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। निपाह भाइरस जनस्वास्थ्यका लागि गम्भीर चुनौती बन्न सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता बढाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चमेरा, सुँगुरलगायत निपाह भाइरसको स्रोत मानिने जनावर नेपालमा पनि पाइने भएकाले जोखिमलाई नजरअन्दाज गर्न नहुने अवस्था छ। “हालसम्म नेपालमा निपाह भाइरस पुष्टि भएको छैन, तर जोखिम उच्च भएकाले हामीले पूर्वतयारीलाई प्राथमिकता दिएका छौँ,” उहाँले बताउनुभयो।
मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल, प्रमुख सीमा नाका तथा स्वास्थ्य संस्थामा निगरानी कडा बनाएको छ। शङ्कास्पद लक्षण देखिएका यात्रु तथा व्यक्तिको नमुना परीक्षण गर्न र आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइएको डा. बुढाथोकीले जानकारी दिनुभयो। सीमा क्षेत्रका हेल्थ डेस्क सक्रिय बनाइएका छन् भने प्रदेश र स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।
डा. बुढाथोकीले भन्नुभयो, “निपाह भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी, पहिचान र प्रतिक्रिया प्रणालीलाई बलियो बनाइएको छ। कुनै पनि शङ्कास्पद अवस्थालाई बेवास्ता गरिँदैन।”
निपाह भाइरस के हो ?
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस जनावरबाट मानिसमा सर्ने अत्यन्तै गम्भीर प्रकृतिको भाइरस हो। यो भाइरस विशेषगरी फलफूल खाने चमेरामा पाइने गर्छ। चमेराबाट सुँगुर, गाई–गोरुजस्ता जनावर हुँदै मानिसमा सर्ने जोखिम उच्च हुन्छ।
यो भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा पनि सर्न सक्ने डा. पुन बताउनुहुन्छ। सङ्क्रमित पशुको सम्पर्कमा आएको फलफूल खाँदा, वा सङ्क्रमित व्यक्तिको रगत, दिसा–पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा भाइरस सर्न सक्छ।
भाइरसको लक्षण र जोखिम
डा. पुनका अनुसार भाइरस शरीरमा प्रवेश गरेको ४ देखि १४ दिनभित्र लक्षण देखिन सक्छन्। प्रारम्भिक लक्षण अन्य भाइरल रोगसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो झुकिने सम्भावना रहन्छ।
निपाह भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, टन्सिलाइटिस तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ। समयमै उपचार नपाएमा २४ देखि ४८ घण्टाभित्र निमोनिया, श्वासप्रश्वास विफलता भई बिरामी अचेत हुने र मृत्यु समेत हुन सक्ने चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशतसम्म रहेको छ भने केही स्थानमा यो शतप्रतिशतसम्म पुगेको अध्ययनले देखाएको छ। हालसम्म यसविरुद्ध कुनै निश्चित खोप वा विशेष औषधि उपलब्ध छैन। उपचार लक्षणअनुसार मात्र गरिन्छ।
यसरी जोगिन सकिन्छ
चिकित्सकहरूका अनुसार निपाह भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय सङ्क्रमण हुन नदिनु नै हो।
फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी र मासु राम्रोसँग पकाएर खाने, पशुपालन गर्ने स्थान सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, पानी उमालेर मात्र पिउने, साबुनपानीले हात बारम्बार धुने
भीडभाडमा मास्क लगाउने भाइरसबाट बच्ने उपायहरू हुन् ।
यदि निपाह सङ्क्रमण भएको देशबाट फर्किएको छ वा यस रोगको शङ्का लागेमा क्वारेन्टाइनमा बस्न र ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकको सुझाव छ। डर होइन, सचेतना र सतर्कता नै निपाहबाट जोगिने सबैभन्दा ठूलो उपाय भएको चिकित्सकहरूको भनाइ छ।

