काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सहिदहरूले देखाएको सपना पूरा गर्दै उहाँहरूले तय गरेको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सहिदका आदर्श, साहस र सङ्कल्पलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।
सहिद दिवसका अवसरमा सम्पूर्ण वीर सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै सभापति थापाले देश र जनताका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सहिदकै बलिदानका कारण आज नेपाली जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको बताएका छन्।
उनले नेपाली जनताको अधिकार, स्वतन्त्रता र स्वाधीनताका लागि २००७ सालको जनक्रान्तिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सङ्घर्षहरूमा जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
सभापति थापाले सुदृढ र सबल लोकतन्त्रकै माध्यमबाट मात्र नेपाललाई शान्त, समुन्नत र समावेशी राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै सहिदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै विकास र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा दायित्व भएको बताएका छन्।
कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्माण भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन अपरिहार्य रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे।
सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहिद दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

