काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ।
जिल्ला सुरक्षा समिति तथा जिल्ला प्रहरी परिसर काठमाडौँको निर्णयअनुसार राति र बिहानको समयमा संयुक्त गस्ती सञ्चालन थालिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।
परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक थापाले लागुऔषध तथा विस्फोटक पदार्थको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कुकुरसहितको चेकजाँचलाई तीव्र बनाइएको बताए। उनका अनुसार विभिन्न स्थानमा ‘सरप्राइज’ चेकजाँचसमेत नियमित रूपमा भइरहेको छ।
सुरक्षा जाँचका क्रममा शङ्कास्पद देखिएका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि छाड्ने गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख थापाका अनुसार संवेदनशील तथा रणनीतिक क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त तथा एकीकृत गस्ती सुरु गरिएको छ। “विभिन्न रुट निर्धारण गरी संयुक्त रूपमा गस्ती अभियान सञ्चालन भइरहेको छ,” उनले भने।
उनले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने समूह तथा शक्तिबारे सूचना सङ्कलन गर्दै सोहीअनुसार सुरक्षा निकाय परिचालन गरिएको स्पष्ट पारे। काठमाडौँमा कुनै पनि किसिमको निर्वाचन बिथोल्ने प्रयासलाई कडाइका साथ नियन्त्रण गरिने प्रहरीको भनाइ छ।

