सिराहा। अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार। बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो।
स्थानीयवासी भन्थे, ‘यो उमेरमा के नागरिकता बनाउँछौ आमा ?’
तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो। यो केवल एउटा कागजको पाना थिएन, उनको आठ वर्षको सङ्घर्ष र तिरस्कारपछिको विजय थियो।
औरही गाउँपालिका—३ पिपरामा जन्मिएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिएकी थिइन्। जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन्। २०३१ सालमा श्रीमान्को निधन भएपछि उनी सहाराविहीन भइन्।
आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिइन्। श्रीमान्को मृत्युपछि अंशका लागि उनले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जितिन्। अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाउइन्, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उनले नागरिकता भने पाइनन्।
माइतीले दिएको छ कट्ठा जग्गा पनि उनकै नाममा थियो । तर, विडम्बना १ नागरिकता नहुँदा न उनले त्यो जग्गा बेचबिखन गर्न पाइन्, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सकिन्। उनको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो।
उनस्माथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो। ‘आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,’ ती दिन सम्झदै उनका नाति रामपरीक्षण यादवले भने।
कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान्। बुढेसकालले छोप्दै ल्याएपछि उनलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने? सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किंदा उनी धेरै पटक रोएकी थिइन्।
सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उनले गरेको सङ्घर्षको कथा आएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेपछि आठ वर्षपछि मात्र उनको प्रशासनिक उल्झन सुल्झियो। अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उनले राज्यको नागरिक हुनुको गौरव महसुस गरेकी छन्।
आफ्नी हजुरआमाको हकका लागि वडादेखि अदालतसम्म धाउने नाति रामपरीक्षण यादव अहिले निकै खुसी छन्। उनले प्रफूल्लित हुँदै भने, ‘हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु। नागरिकता नहुँदा उनले आफ्नो जग्गा जमिनको उपभोग गर्न पाउनुभएको थिएन र वृद्ध भत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो।’
अब उनले राज्यको नागरिक हुनुको गौरव महसुस गर्न पाएकी छन्। यो आफ्नो परिवारका लागि ठूलो जित भएको उनले बताए।
नागरिकता सुम्सुम्याउँदै कपलेश्वरीले भावुक भएर भनिन्, ‘छोराछोरी छैनन्, सहारा दिने कोही थिएन। अब सरकारले दिने भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ। कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ।’
७८ वर्षको उमेरमा पाएको यो नागरिकताले कपलेश्वरीलाई केवल आर्थिक राहत मात्र होइन, एउटा परिचय र सम्मान पनि दिएको छ।
आफ्नी हजुरआमाले आठ वर्ष भोग्नुपरेको सास्ती सम्झँदै नाति रामपरीक्षणले भने, ‘हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै पनि प्रशासनिक झमेलामा अल्झिरहेका छन्, सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि एउटा नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ?’
रासस

