काठमाडौँ । पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका उजुरी बढ्दै गएपछि चिन्तित बनेको जिल्ला प्रहरी परिसर काठमाडौँले सुरु गरेको ‘अपरेसन स्न्याचिङ’ अन्ततः सफल भएको छ। प्रहरीले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यराति लुटपाट मच्चाउँदै आएको संगठित गिरोहलाई गएराति मूलपानीबाट नियन्त्रणमा लिएको हो।
लुटपाटका घटनाले असहज बनेको सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले शङ्कास्पद क्षेत्रहरूमा चेकप्वाइन्ट राख्दै निगरानी कडा बनाएको थियो। सोही क्रममा मूलपानी क्रिकेट मैदान नजिकैको चेकप्वाइन्टमा सवारी साधन नरोकी प्रहरीमाथि नै जाइलाग्न खोजेपछि प्रहरी बाध्य भएर गोली प्रहार गरी गिरोहलाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा तथा सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो ।
उनीहरूका साथबाट बा १२ च ७७०१ नम्बरको कार, बागमती प्रदेश ०१–०० ज ८७६६ नम्बरको ट्याक्सी र छ वटा मोटरसाइकल बरामद गरिएको छ। अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ३ बजेसम्म निरन्तर अपरेसन चलाएको थियो। सिसीटिभी फुटेजका आधारमा गिरोहको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार गिरोहले राति १२ बजेदेखि बिहान ४ बजेसम्म काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा हिँडिरहेका महिला तथा पुरुषलाई कुटपिट गरी सुनका गरगहना र नगद लुटपाट गर्दै आएको थियो। उनीहरू तीन–तीन जनाको समूह बनाएर मोटरसाइकलमा सवार भई लुटपाट गर्ने गर्थे।
अनुसन्धानबाट खुलेअनुसार गिरोहका सदस्यहरू दिउँसो ट्याक्सी चलाउने, सम्भावित लक्ष्यको ‘रेकी’ गर्ने, राति ९ बजेतिर भेला भई खाना खाने र मध्यरातदेखि लुटपाटमा निस्कने गरेका थिए। लुटपाटपछि उनीहरू पुनः ट्याक्सी वा निजी कारमार्फत सामान्य दैनिकीमा फर्किन्थे।
गिरोहका नाइके विनय ‘जेनजी आन्दोलन’का क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट फरार भएका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हिरासतबाट भागेपछि उनले आफ्नै नेतृत्वमा उक्त गिरोहलाई सक्रिय बनाएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार गिरोहले स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध र गौशालामा तीन–तीन तथा भक्तपुरको ठिमी क्षेत्रमा १३ वटा लुटपाटका घटना गरिसकेको तथ्य खुलेको छ। गोली लागेका गिरोहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको तथ्याङ्कअनुसार विनय यसअघि २०७९ मा चोरी र २०८२ मा डाँका चोरीमा संलग्न थिए भने आयनमाथि २०७९ पुस २६ गते डाँका चोरीको मुद्दा चलिसकेको छ। अधिकांश अभियुक्तको पृष्ठभूमि आपराधिक रहेको प्रहरीको भनाइ छ। पेमा र सलोन दाजुभाइ हुन्।
गिरोहले पहिचान लुकाउन मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर प्रयोग गर्ने गरेको भेटिएको छ ।

