काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि जीवन बलिदान गर्ने सहिदहरूको आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सरोकारवाला सबैलाई मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्।
सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्र र जनताको हितका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नु नै सहादतको उच्चतम रूप भएको उल्लेख गरेका छन्। उनले सहिद दिवसले सहिदहरूले देखेको सपना पूरा गर्ने संकल्प, प्रेरणा र नैतिक साहस प्रदान गरोस् भन्ने कामना व्यक्त गरे।
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको संरक्षणका लागि जीवन उत्सर्ग गर्ने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात तथा अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले सहिद दिवसलाई देशका लागि प्राण आहुति दिने वीर वीराङ्गनाहरूको विशेष स्मरण गर्ने दिनका रूपमा उल्लेख गरे।
उनले सन्देशमा भनेका छन्, “नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउने उद्देश्यले इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानासाही शासनविरुद्ध भएका आन्दोलनहरूमा जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको छ।”
राष्ट्रपति पौडेलले महान् सहिदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यतर्फ अग्रसर हुनु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे।

