काठमाडौँ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ। सहिदहरूको त्याग, बलिदान र योगदानलाई सम्मान गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाउने गरिन्छ।
सहिद दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने चार महान् सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री—सहित विभिन्न कालखण्डमा स्वतन्त्रता, प्रजातन्त्र र लोकतन्त्रका लागि बलिदान दिने सम्पूर्ण सहिदको सम्झनामा यो दिवस मनाइने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन शासकले धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए। तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहास छ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवसका अवसरमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापना, साथै विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा देशभर विविध कार्यक्रम आयोजना गरिन्छ। यही सन्दर्भमा माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिएको छ।
विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा औपचारिक रूपमा दिवस मनाउन थालिएको हो।
इतिहासअनुसार, स्वतन्त्रताको माग गरेकै कारण विसं १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

