काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक सय सातवटा विद्यालयको अनुमति खारेज गर्ने तयारी गरेको छ। भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालय खारेज गर्ने अन्तिम तयारी भैरहेको खुलासा भएको छ ।
काठमाण्डौ महानगरपालिका, शिक्षा विभागले आइतबार सूचना जारी गर्दै सार्वजनिक गरिएको सूचीमा नाम रहेका विद्यालयका सम्बन्धित पक्षलाई विभागको सम्पर्कमा आउन आग्रह गरेको छ ।
महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति प्राप्त गरे पनि हाल १०७ वटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको शिक्षा विभागले जनाएको छ।
अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अगाडि बढाइएको महानगरले स्पष्ट पारेको छ। विभागले विद्यालयको लामो सूची सार्वजनिक गर्दै यदि अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई तोकिएको समयभित्र सम्पर्कमा आउन सोइचित गरेको छ।
तोकेको समयसीमाभित्र सम्पर्क गरी विद्यालय सञ्चालनमा रहेको पुष्टि गर्न नसके विद्यालय बन्द गर्न कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले जनाएको छ।

