काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच समझदारी भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति भएको हो।
छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि निर्वाचन अपरिहार्य भएको बताएका थिए।
“देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलले भनेका थिए।
छलफलमा सहभागी नेताहरूले संविधान, लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको शीतलनिवास स्रोतले बताएको छ।
Previous Articleपुष्पकमल महोत्तरीबाट, कमल काठमाण्डौ र बाँकेबाट उमेद्वार !
Next Article काठमाण्डौ महानगरपालिकाद्वारा १०७ विद्यालय खारेज !

