काठमाण्डौ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उम्मेदवारका रूपमा सिफारिस भएको छ।
क्षेत्रीय भेलाले प्रत्यक्षतर्फ प्रचण्डलाई पहिलो र नेकपा संसदीय दल (मधेस प्रदेस)का नेता भरतप्रसाद साहलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ।
समानुपातिकतर्फ अरबिन्द दाससहित पाँच जनाको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम प्रस्ताव गरिएको छ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापालाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ र बाँके–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ। राप्रपा नेपाल काठमाडौँ–५ को क्षेत्रीय कार्यसमितिले थापाको नाम एकल रूपमा सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले बताए।
राप्रपा नेपालको बैठकले समानुपातिकतर्फ जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ।
बाँके–२ बाट पनि राप्रपा नेपाल अध्यक्ष थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
राप्रपा नेपाल पार्टी केन्द्रीय सचिवालयका अनुसार देशभरिका क्षेत्रीय कार्यसमितिहरूले उम्मेदवार सिफारिसको प्रक्रिया सम्पन्न गरेका छन्।

