दाङ
दाङ जिल्लामा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) परित्याग गर्दै पूर्व जिल्ला सेक्रेटरी कमरेड जनक सीको नेतृत्वमा ९ जना जिल्ला सदस्यसहित दर्जनौँ कमरेडहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा ध्रुवीकरण भएका छन्।
सोमबार आयोजित विशेष कार्यक्रममार्फत उनीहरूले औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै कमरेड जनक सीले वर्तमान राजनीतिक अवस्थाले क्रान्तिकारी आन्दोलनलाई नयाँ ढंगले एकताबद्ध हुन बाध्य बनाएको बताए। विगतका संघर्ष, त्याग र बलिदानलाई संस्थागत गर्ने जिम्मेवारी अब व्यापक कम्युनिस्ट एकतामार्फत मात्रै सम्भव हुने उनको भनाइ थियो।
कार्यक्रममा नेकपाका नेताहरूले नयाँ प्रवेशी कमरेडहरूलाई स्वागत गर्दै उनीहरूको अनुभव, संघर्षशीलता र संगठनात्मक क्षमताले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। जनताको पक्षमा दृढतापूर्वक उभिने, वर्गसंघर्षलाई लोकतान्त्रिक ढंगले अघि बढाउने र प्रतिक्रियावादी शक्तिविरुद्ध एकीकृत रूपमा संघर्ष गर्ने नेकपाको नीतिले आफूहरू आकर्षित भएको नयाँ प्रवेशीहरूको धारणा थियो।
दाङ जिल्लामा भएको यस ध्रुवीकरणलाई कम्युनिस्ट आन्दोलनको पुनर्संयोजनको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस घटनाले जिल्लामा मात्र नभई प्रदेश र राष्ट्रिय स्तरमै कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्यको बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

