कञ्चनपुर । सुदूरपश्चिममा रेबिज रोगको संक्रमण बढ्दै गएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरेका १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको तथ्याङ्क सार्वजनिक गरेको छ।
वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार सबैभन्दा धेरै संक्रमण कैलालीमा भेटिएको छ, जहाँ परीक्षण गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ आएका छन्। कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीमा आठमध्ये छ र बझाङका तीन नमूनामध्ये सबैमा रेबिज पाइएको छ।
कुकुर प्रमुख वाहक
परीक्षण गरिएका ८७ कुकुरमध्ये ७२ मा रेबिज देखिएको छ। यस्तै, भैंसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, बङ्गुरका सातमध्ये पाँच, घोडाका दुई र खरायोको एउटा नमूनामा समेत संक्रमण पुष्टि भएको छ।
संक्रमण बढ्दो क्रममा
सन् २०७६/७७ मा सुरु गरिएको रेबिज अन्वेषण कार्यक्रमअन्तर्गत सुरुमा केवल दुई नमूना पोजेटिभ पाइएका थिए। तर पछिल्ला वर्षमा तीव्र वृद्धि भएको छ—२०७९/८० मा ३९, २०८०/८१ मा १५७ र चालु वर्षमा १३६ नमूना पोजेटिभ भेटिएका छन्।
मानव स्वास्थ्यमा जोखिम
रेबिज संक्रमित जनावरले टोकेपछि मानिसमा समेत सर्ने गर्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष करिब ५९ हजार मानिस रेबिजका कारण ज्यान गुमाउँछन्, जसको ९५ प्रतिशत अफ्रिका र एशियामा हुन्छ। नेपालमा मात्र वार्षिक करिब एक लाख मानिस जनावरले टोकेका हुन्छन् भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको छ।
सावधानी नै रोकथामको उपाय
“रेबिज लागेपछि उपचार सम्भव छैन, मृत्यु निश्चित हुन्छ,” चिकित्सक जोशी भन्छन्, “त्यसैले संक्रमित जनावरले टोकेपछि तुरुन्त साबुनपानीले घाउ सफा गरी जति सक्दो चाँडो ‘एन्टी–रेबिज भ्याक्सिन’ लगाउनुपर्छ।”
उनका अनुसार रोग लागेपछि पानी पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, स्मरण शक्ति हराउने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन्।