काठमाण्डौ । लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न आज (बिहीबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ। दिउँसो २ बजे बस्ने यो बैठकमा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
यसअघिका बैठकहरूमा सहमति जुट्न नसक्दा विधेयक पारित हुन सकेको थिएन। गत असार २२ गते विधेयक पारित गर्ने तयारी भए पनि शिक्षामन्त्री रघुजी पन्तले केही विषयमा सहमति बाँकी रहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि कुनै निर्णय नभई बैठक रोकिएको थियो।
सरकारले आन्दोलनरत शिक्षकहरूसँग असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति गरे पनि विभिन्न कारणले समयमै टुङ्गोमा पुग्न सकेको छैन। आजको बैठकमा भने विधेयकलाई निष्कर्षमा पुर्याउने प्रयास गरिने संघीय संसद सचिवालयले जनाएको छ।

