काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुई–दुई सूचना खुल्दा पनि एक जनाले समेत दरखास्त नदिँदा नियुक्ति प्रक्रिया रोकिएको छ।
उपकुलपति सिफारिस समितिले पहिलो पटक कात्तिक १६ देखि ३० गतेसम्मका लागि सूचना प्रकाशित गरेको थियो। दरखास्त नआएपछि समय थप गरी मंसिर ५ गतेसम्म बढाइए पनि सो अवधिमा पनि कुनै निवेदन परेन।
लगातार दुई पटक विज्ञापन निष्क्रिय भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिकरूपमा इच्छुक व्यक्तिलाई निवेदन दिन आग्रह गरेका छन्।
‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन,’ मन्त्री पुनले भने, ‘स्वास्थ्य क्षेत्रमा प्राध्यापन र विद्यावारिधि भएको, मातृभूमिलाई सेवा गर्ने इच्छुक देशभक्त सन्तानले कृपया निवेदन दिनुहोस्, वा मलाई सम्पर्क गर्नुहोस्।’
सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ४ गते प्रमाणीकरण भएको थियो।

