धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनबिना देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन्।
सुनसरीको धरानमा बुधबारबाट सुरु जसपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएको उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अपरिहार्य भएको धारणा राखेका हुन् ।
आगामी फागुन २१ गते नै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्र सुदृढ बनाउन भयमुक्त वातावरण र सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्ने बताए। सुशासन, समानुपातिक पहुँच र भ्रष्टाचार नियन्त्रणजस्ता मुद्दामा सरकारले प्रभावकारी भूमिका नखेलेको आरोप उनले लगाएका छन्।
जेनजी आन्दोलनले उठाएका धेरै माग समाधानका चरणमै पुग्न नसकेको र यसमा सरकार जिम्मेवार नदेखिएको टिप्पणी गर्दै यादवले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै चुनावी प्रक्रियालाई अविलम्ब अघि बढाउन सबै दल एकजुट हुनुपर्ने बताए।
“जेनजी आन्दोलनपछि उठाइएका माग अझै सम्बोधन हुन सकेका छैनन्, जसका कारण राजनीतिक स्थायित्व कमजोर बनेको छ,” अध्यक्ष यादवले भने।

