काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा ताला लगाएको छ।
चारवटा केन्द्रीय विभागको शुल्क समायोजनको माग गर्दै ताला लगाइएको संगठनले जनाएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको शुल्क समायोजन हुनुपर्ने माग क्रान्तिकारीले अघि सारेको छ।
विगतमा भएको सहमति कार्यान्वयन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शुल्कको विषयलाई लिएर संगठनले गत साउनमा पनि आन्दोलन गरेको थियो। क्रान्तिकारीले शुल्क घटाएर एक लाख १० हजार रुपैयाँ कायम गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सहमति कार्यान्वयन नभएसम्म अनिश्चितकालीन तालाबन्दी जारी रहनेछ। यथाशीघ्र कार्यान्वयन नगरी आन्दोलनको उपेक्षा गरिएमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं।”

