विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन कुनै पनि हालतमा तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने बताएका छन्। निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब बहानाबाजी गरेर चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उनको धारणा छ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता सुरु हुन लागेकाले निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको बताए।
फागुन २१ गते तराई क्षेत्रमा होली पर्व र हिमाली जिल्लामा सम्भावित हिमपातजस्ता व्यावहारिक कठिनाइ हुन सक्ने स्वीकार गर्दै उनले आवश्यक परे निर्वाचन चरणबद्ध रूपमा गर्न सकिने सुझाव दिए।
“काठमाडौँ उपत्यकाजस्ता सहज क्षेत्रमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लामा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ,” उनले भने।
देशलाई लामो समयसम्म सङ्क्रमणकालमा राख्दा संविधान र लोकतन्त्र नै जोखिममा पर्न सक्ने चेतावनी दिँदै भट्टराईले संसदीय प्रणालीलाई जीवित राख्ने एकमात्र उपाय निर्वाचन भएको बताए।
“सङ्क्रमणकाल लम्बिँदा लोकतन्त्रविरुद्ध षड्यन्त्र हुनसक्छ, त्यसैले समयमै निर्वाचन अपरिहार्य छ,” उनको भनाइ थियो।

