काठमाण्डौ । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा भएको आगलागीमा एक जना स्थानीय गम्भीर घाइते भएका छन्।
आगलागीमा परेर ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएको स्थानीय अटु लामाले जानकारी दिए। चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङका अनुसार आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको छ।
“घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ। बिरामीलाई सिर्दिबासतर्फ लैजाने तयारी गरिएको छ,” गुरुङले बताए।
छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ।
आगलागीबाट तेन्जिङ लामाको धन्सारभित्र रहेका लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातलगायत सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक रूपमा चुल्होको आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ।

