काठमाण्डौ । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ । अभियोजनकर्ताहरूले युनमाथि देशको शत्रुलाई सहयोग गरेको गम्भीर आरोपसहित मुद्दा दायर गरेका छन्।
अभियोगअनुसार युनले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडान गराउन आदेश दिएका थिए। यस मुद्दासम्बन्धी पक्राउ पुर्जीको म्याद जनवरी १८ मा सकिन लागेको थियो तर शुक्रबारको अदालत आदेशले उक्त अवधि अधिकतम छ महिनासम्मका लागि थपिएको छ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले एएफपीसँग भनेका छन्, “युनमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पक्राउ पुर्जी जारी गरिएको हो।”
युन महिनौँदेखि हिरासतमा छन् र उनीविरुद्ध विभिन्न आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाइ भइरहेको छ। उनले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा केही समयका लागि नागरिक शासन निलम्बन गरेका थिए, जसका कारण संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा व्यापक विरोध प्रदर्शन भएको थियो।
यस घटनापछि उनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो। युन गत वर्ष जनवरीमा हिरासतमा परेका थिए र पदमा बहाल रहँदै हिरासतमा लिइने दक्षिण कोरियाको इतिहासका पहिलो राष्ट्रपति बनेका थिए। प्रारम्भमा गिरफ्तारीको विरोध गरेपछि उनी हप्तौँपछि पक्राउ परेका थिए।
सैन्य विद्रोहसम्बन्धी मुद्दाको सुनुवाइ चलिरहेकै बेला मार्चमा प्रक्रियागत आधारमा उनलाई रिहा गरिएको थियो। तर प्रमाण नष्ट गर्न सक्ने आशंकामा जुलाईमा फेरि हिरासतमा लिइएको हो। अभियोजनकर्ताहरूले न्यायिक प्रक्रियामा अवरोध पुर्याएको आरोपमा युनलाई १० वर्षसम्मको जेल सजाय माग गरेका छन्।
यस मुद्दामा सियोलको एक अदालतले जनवरी १६ मा फैसला सुनाउने अपेक्षा गरिएको छ।
Previous Articleगोरखाको लेरुमा आगलागी, ५४ वर्षीय तेन्जिङ गम्भीर घाइते
Next Article डन चक्रे मिलन गोरखा-२ बाट एमाले उमेद्वार !

