मिलन भन्छन्, ‘यो व्यक्तिगत चाहना होइन, युवाको दबाब हो ।’
गोरखा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेद्वारका रूपमा सिफारिस भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट गुरुङलाई उम्मेद्वारका रूपमा अघि सारिएको हो।
उम्मेद्वार सिफारिसपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिइएको बताए। आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको उल्लेख गर्दै आफूले समाजसेवाका साथै राजनीतिमार्फत देशलाई योगदान दिन चाहेको बताए।
‘गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउनेमा म ढुक्क छु,’ गुरुङले भने।
आफूमाथि लाग्ने गरेको ‘गुण्डा’ आरोपप्रति असन्तुष्टि जनाउँदै उनले आफू एक साधारण नागरिकका रूपमा समाजसेवामा सक्रिय रहेको जिकिर गरे। ‘म समाजको सेवा गर्छु भन्नसमेत नपाइने अवस्था सिर्जना गरियो,’ उनले दुखेसो व्यक्त गरे।
यसैबीच, गोरखाका एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले मिलन गुरुङलाई साझा उम्मेद्वारका रूपमा हेरिएको बताए।

