काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम साधारण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानमा तथा तराईका केही क्षेत्रमा हुस्सु लागेको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो कायम रहनेछ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पुनः हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा राति पनि हुस्सु लागिरहने अनुमान गरिएको छ।

