झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा सामान्य घाइते भएका छ जना यात्रु उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन्। दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका सहचालक २४ वर्षीय सुशान्त श्रेष्ठको भने अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना घाइते भएका थिए। जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमान इन्जिनियर थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर–७२ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको हो।
दुर्घटनापछि नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै घाइतेहरूलाई भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्याएको थियो। “सामान्य घाइते भएका छ जना यात्रु उपचारपछि डिस्चार्ज भइसकेका छन्,” प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए।
जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो र ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो।
प्रहरीले जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालेर घाइतेलाई अस्पताल पुर्याएको थियो ।

