काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विभिन्न शक्तिपीठमा पूजा–आराधना गर्ने परम्परा सुरु भएको छ।
स्वस्थानी व्रतकथा अनुसार सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको बास रहेको विश्वासका आधारमा विकसित यो परम्पराअनुसार वैदिक सनातन धर्मावलम्बीहरूले आजदेखि घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा कथावाचन सुरु गरेका छन्।
पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर स्वस्थानी व्रतको सुरुआत् गरिन्छ। प्रत्येक बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने र साँझ स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको स्वस्थानी व्रत कथा श्रवण–वाचन गर्ने चलन छ। परम्पराअनुसार कतिपयले बिहान र कतिपयले साँझ कथावाचन गर्ने गर्दछन्।
एक महिनासम्म विधिपूर्वक व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी अर्पण गरी व्रत पूर्ण गरिन्छ। आठ–आठ भाग पति, छोरा वा मीत छोरालाई दिने र कोही नभएमा नजिकको पवित्र नदीमा अर्पण गर्ने परम्परा छ।
सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य श्रवण गर्ने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
‘स्वस्थानी’को शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले आत्मसाधनासँग पनि स्वस्थानी व्रत जोडिएको विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्णवर्ण, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। “स्वस्थानी देवीका चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहेका छन्,” उनले जानकारी दिए ।
धार्मिक विश्वासअनुसार स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोग–व्याधि निवारण तथा इच्छाएको वर वा वधू प्राप्ति हुने विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न स्वस्थानी व्रत गरेको कथा स्वस्थानी व्रतकथामा उल्लेख छ। नाग–नागिनीको पुनर्मिलन र गोमा ब्राह्मणीले व्रतकै प्रभावले पुत्र प्राप्त गरेको कथा समेत स्वस्थानीमा वर्णित छ ।
आजदेखि नै काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा एक महिनासम्म चल्ने माधवनारायण मेला पनि सुरु भएको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मेलामा माघ स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार यही विश्वासका कारण प्रत्येक वर्ष लाखौँ भक्तजन शालिनदी पुग्ने गर्छन्।
शालिनदी व्यवस्थापन समितिले यस वर्ष माधवनारायण मेलाका लागि सबै तयारी पूरा भएको जनाएको छ। मेलामा नेपाल साथै भारतबाट समेत श्रद्धालु भक्तजन आउँछन् ।

