काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । भौगोलिक विकटताका आधारमा २६ निर्वाचन क्षेत्रमा खर्चको सीमा अन्य स्थानमा भन्दा बढी निर्धारण गरिएको हो।
आयोगले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापका निर्वाचन क्षेत्रमा उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो।
साथै काभ्रेपलान्चोकका दुई निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लमजुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि यही सीमाभित्र रहेर खर्च गर्न पाउनेछन्।
सुगम जिल्लाका निर्वाचन क्षेत्रमा खर्च सीमा २५ लाख रुपैयाँ मात्रै तोकिएको छ। सबैभन्दा कम खर्च गर्न पाउने पाँच निर्वाचन क्षेत्र काठमाडौँ–१, ३, ६, ७ र ८ रहेका छन्।
तेह्रथुम, पर्सा–१, २ र ३, रसुवा, काठमाडौँ–२, ४, ५, ९ र १०, ललितपुर–१ र २, मनाङ, कास्की–२ र रुकुम पूर्वका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।
आयोगका अनुसार ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् भने ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न सक्छन्।
निर्वाचन आयोगले यसपटक पारदर्शिता बढाउन उम्मेदवारहरूले अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामा खाता खोली सोही खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

