काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘जेनजी आन्दोलन’ मा भएको मानवीय क्षति र तोडफोडको विषयलाई लिएर एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ।
सोमवार काठमाडौंको रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले उक्त आन्दोलनमा भएको क्षतिको नैतिक तथा कानुनी जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले लिनुपर्ने बताउँदै उनीहरूमाथि अनुसन्धान हुनुपर्ने प्रष्ट गरे। शेर्पाले भदौ २३ गते आन्दोलनको पहिलो दिनमै धेरै मानवीय क्षति भएकोले नेविसंघले सोही दिन उनीहरूको राजीनामा मागेको समेत स्मरण गराए।
साथै, शेर्पाले उक्त आन्दोलनको नेतृत्वकर्ताको भूमिकामा देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि पनि सिंहदरबार जलाउने लगायतका गम्भीर घटनामा अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्न दोषीहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल विद्यार्थी संघले यही असोज २८ बाट सरकारले ठोस कदम नचाले प्रदर्शनमा उत्रने चेतावनीसमेत दिएको छ।