काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाम लिएर चन्दा, सहयोग उठाउने गतिविधि भैरहेको तथ्य सार्वजनिक भएको छ । जेन-जी आन्दोलनलगत्तै गएको बाढीपहिरो आदिबाट मुलुक आक्रान्त भएको बेला प्रधानमन्त्रीको नाम प्रयोग गरेर अवाञ्छित गतिविधि भैरहेको सूचनासहितको गुनासो प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।
सरकारले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा प्रोत्साहन गरेको गतिविधि फेला परे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।
केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र उनको कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको सरकारले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन।
त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्णरूपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्तिमार्फत अनुरोध गरेका छन्।
प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिवधि फेला पारेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ।