काठमाण्डौ । नेपाल र चीन जोड्ने महत्त्वपूर्ण व्यापारिक नाका रसुवागढी गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएपछि ठप्प भएको आज तीन महिना पूरा भएको छ। चाडपर्वको मुखमा पनि नाका सञ्चालनमा आउन नसक्दा व्यापारिक गतिविधि पूर्ण रूपमा शून्य भएको छ।
नाका खुलाउन ल्हेन्दे खोलामा बेलिब्रिज निर्माण हुनुका साथै रसुवागढी–स्याफ्रुबेंसी सडकखण्ड सहज हुनुपर्छ। चीनले दुवैतर्फबाट बेलिब्रिज बनाइरहे पनि दसैँसम्म सम्पन्न नहुँदा तिहारअघि नाका खुल्ने सम्भावना टरेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार पुल निर्माणमा ढिलाइ भइरहेकाले नाका खुल्न कठिन देखिएको छ।
सामान्य अवस्थामा दैनिक करिब एक सय कन्टेनर ओहोरदोहोर गर्ने यो नाकाबाट तयारी वस्तु, चाडबाडमा खपत हुने स्याउ र सबैभन्दा बढी विद्युतीय सवारीसाधन आयात हुन्थ्यो। नाका ठप्प भएपछि अहिले ती वस्तुको आयात बन्द भई मुस्ताङको कोरला नाकाबाट केही सामानहरू आइरहेका छन्।
भन्सार राजस्वमा यसको गम्भीर असर परेको छ। चालु आर्थिक वर्षका लागि ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले नाका बन्द भएपछि नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन शून्य रहेको जनाएको छ। चाडपर्वमा अत्यधिक राजस्व उठ्ने बेला कर्मचारीहरू कार्यालय कुरेर बस्नुपर्ने अवस्था आएको छ।
यता, स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकखण्ड पनि पटक–पटकको पहिरोले ग्रस्त छ। भौगोलिक बनावटका कारण पहिरो पन्छाउन समस्या भए पनि गल्छी–रसुवागढी सडक योजना कार्यालय प्रमुख कृष्णनाथ ओझाले केही दिनभित्रै सडकमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने गरी काम भइरहेको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बेलिब्रिज निर्माण अन्तिम चरणमा रहेकाले तिहारपछि भने नाका सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्। यद्यपि, सडक विभागले पहिरो हटाउन मेसिनहरू परिचालन गरिरहेको र पानी नपरे छिट्टै सडक सहज हुने जनाएको छ। अघिपछि कन्टेनरको भीडभाड हुने रसुवागढी नाका अहिले पुल र सडकको पर्खाइमा सुनसान बनेको छ।