काठमाण्डौ । बडादसैँका अवसरमा नेपाल राष्ट्र बैंकबाट करिब ५६ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोटहरू बजारमा प्रवाह भएका छन्। राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्म सर्वसाधारणको सुविधाका लागि सुकिला नोट वितरण गरेको थियो, जसले गर्दा चलनचल्तीको मुद्रा (अर्थतन्त्रमा प्रयोग भइरहेको पैसा) बढेर ८ खर्बको आँकडा पार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ। यसअघि चलनचल्तीमा करिब साढे ७ खर्ब मुद्रा थियो।
दसैँको सटही अवधिमा राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट सर्वसाधारणले ५ देखि १०० रुपैयाँसम्मका नोटहरू करिब डेढ अर्ब रुपैयाँ सटही गरे। यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट करिब साढे ४ अर्ब रुपैयाँ सटही भएको छ, जसअनुसार सर्वसाधारणले ६ अर्ब रुपैयाँ बराबरका सुकिला नोट साटेका छन्।
सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै कारोबारका लागि राष्ट्र बैंकबाट थप करिब ५० अर्ब रुपैयाँ झिकेका छन्। यसरी हेर्दा, राष्ट्र बैंकबाट सिधै र बैंक तथा वित्तीय संस्थाहरूमार्फत गरी दसैँका लागि मात्र थप ५६ अर्ब रुपैयाँ बजारमा गएको हो।
नेपालमा पैसा छाप्ने, संरक्षण गर्ने र व्यवस्थापन गर्ने केन्द्रीय बैंकको रूपमा राष्ट्र बैंकले अर्थतन्त्रको आकार र आर्थिक गतिविधिलाई मूल्यांकन गरेर आवश्यक पर्ने रकम मात्र बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पठाउँछ। हरेक वर्ष दसैँ, तिहार र छठजस्ता चाडपर्वमा नयाँ नोटको माग अत्यधिक हुने गर्दछ। सामान्यतया दसैँ–तिहारमा ६० देखि ९० अर्ब रुपैयाँसम्म बाहिरिने गरेकोमा यस वर्षको दसैँमा भने सो रकम केही घटेको जनाइएको छ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले विशेष गरी १०० रुपैयाँभन्दा साना दरका नोट बढी साट्छन् भने बैंक तथा वित्तीय संस्थाहरूले ठूलो कारोबारका लागि ५०० र १००० दरका नोटहरू बढी उपयोग गर्छन्। यो रकममा सिक्काको हिसाब समावेश नगरिए पनि दसैँ–तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका स्मारिका सिक्का तथा असर्फीको बिक्री पनि हुने गर्दछ।