काठमाडौँ । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालय (केयू) की कुलपति सुशीला कार्कीले देशका विश्वविद्यालयमा प्राज्ञिक नेतृत्व स्थापना गर्ने कार्यमा सरकारले सक्रिय गृहकार्य गरिरहेको बताएकी छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूको ३१औँ दीक्षान्त समारोहको पहिलो चरणलाई आज सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थामा कुलपति प्रधानमन्त्री हुने प्रथालाई पुनरावलोकन गर्ने आवश्यकता तीव्र बनेको उल्लेख गरिन्।
उनका अनुसार, विश्वविद्यालयको उच्च नेतृत्वमा राजनीतिक हस्तक्षेप रोक्ने उद्देश्यले उपकुलपति लगायत सम्बन्धित निकायसँग निरन्तर परामर्श भइरहेको छ।
“ऐन संशोधन गरेर प्राज्ञिक व्यक्ति नै कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी अघि बढिरहेका छौँ,” कार्कीले भनिन्, “यसले उच्च शिक्षाको राजनीतिकरण अन्त्य गर्ने आधार निर्माण गर्छ।”
प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताको बदलिँदो सोच र अपेक्षाले नयाँ राजनीतिक परिस्थिति जन्माएको उल्लेख गर्दै गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना अब मुलुकभित्रै पूरा हुनुपर्ने धारणा राखिन्।
उच्च शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भर्चुअल रियालिटीजस्ता प्रविधिको विस्तार बढिरहेको उल्लेख गर्दै उनले यस्तो परिवेशमा युवाको आकाङ्क्षा तीव्र हुनु स्वाभाविक भएको बताइन्। तर, नेपालले उच्च शिक्षामा गर्ने राज्य लगानी न्यून हुँदा ती आकाङ्क्षा पूरा गर्न चुनौती थपिएको उनको टिप्पणी थियो।
“लगानी नबढाई गुणस्तर वृद्धि कठिन हुन्छ,” उनले भनिन्, “त्यसैकारण उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको अनिवार्य छ।”
शैक्षिक प्रशासनमा हुने अनावश्यक दलीय हस्तक्षेपले कमजोर विश्वविद्यालय शासनतन्त्र जन्माएको बताउँदै उनले सरकार केही ठोस कदम चालिरहेको प्रष्ट पारिन्।
यस्तै, प्रधानमन्त्री कार्कीले केयूले सुरु गरेका सुधार प्रयासहरू अन्य विश्वविद्यालयका लागि उदाहरणीय रहेको उल्लेख गरिन्। गुणस्तरीय र किफायती शिक्षा मुलुकमै उपलब्ध गराउन आवश्यक संरचनात्मक तथा कार्यक्रमगत सुधार गर्न सम्बन्धित निकायलाई शिक्षामन्त्रीमार्फत निर्देशन पनि दिइन्।
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा केयूका सहकुलपति महावीर पुन पनि उपस्थित थिए।
दीक्षान्त समारोहको पहिलो चरणमा विभिन्न विधाका २ हजार २०९ विद्यार्थी दीक्षित भएका छन्।

