काभ्रेपलाञ्चोक। काभ्रे धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज सम्पन्न ३१औँ दीक्षान्त समारोहको पहिलो चरणबाट २,२०९ विद्यार्थी दीक्षित भएका छन्। तीमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी छन्।
स्कुलअनुसार आर्ट्सबाट ८३, एजुकेसन २९४, इन्जिनियरिङ ३४०, ल ३६, म्यानेजमेन्ट ३७८, मेडिकल साइन्सेज ८८१ र साइन्सबाट १९७ गरी कुल २,२०९ जना दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
दीक्षितमध्ये पीएचडी, DM र MCh तहका ७, स्नातकोत्तर ३९७, PGD ५० र स्नातक १,७२८ जना छन्।
उपकुलपति प्रा. अच्युत वाग्लेका अनुसार विदेशी विद्यार्थी अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भूटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, अमेरिका र भियतनामबाट हुन्।
समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई पदक वितरण गरिएको थियो।
MA in Translation मा ४ CGPA ल्याउने स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक,
MBBS मा ८५.४५ प्रतिशत ल्याउने गौरव सिंह साउदलाई भाइस–चान्सलर स्वर्णपदक,
MBA मा ३.९४ CGPA ल्याउने अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक,
त्यसै तहमा समान CGPA ल्याउने सौगात दङ्गाललाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरिएको छ।
समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्की, सह–कुलपति महावीर पुन र जएनयू भारतकी उपकुलपति शान्तिश्री धुलिपुडी पण्डित उपस्थित थिए।
३१औँ दीक्षान्तअघि सम्म केयूबाट दीक्षित हुनेको संख्या ५० हजार ४० पुगेको छ। तीमध्ये ५ हजार ८६० विदेशी विद्यार्थी रहेका छन्।

