काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्ने भएका छन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले हार बेहोरेपछि विराटनगर किङ्सले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको दोस्रो मौका पाएको हो।
उता लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै यस चरणमा स्थान सुरक्षित गरेको हो। लिग चरणको भेटमा समेत लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।
आजको खेल दुवै टोलीका लागि निर्णायक हुनेछ।
विजयी टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल मङ्सिर २७ गते तय गरिएको छ।

