काठमाडौँ महानगरपालिका–३२ स्थित गेटवे एकेडेमीले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका शिक्षाविद् विश्वराज अर्याललाई ‘अतुलनीय शिक्षा सम्मान’ प्रदान गरेको छ।
सामुदायिक रेडियो साहिनोको शिक्षा र सरोकार कार्यक्रममा विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गर्दै समसामयिक शिक्षा अवस्था, आवश्यक सुधार र प्रविधिमैत्री शिक्षण विधिबारे निरन्तर बहस गर्दै आएको गेटवे एकेडेमीले लामो समयदेखि शिक्षाको प्रवर्द्धनमा सक्रिय अर्याललाई सम्मान गरेको हो।
युरोपमा परिवारसहित लामो समय बसाइपछि आफ्नो मातृभूमिमा केही योगदान गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्किएका अर्यालले डिजिटल साक्षरता कार्यक्रम, स्मार्ट स्कुल सफ्टवेयर तथा प्रविधिसँग जोडिएको सिकाइ प्रवर्द्धनमा विशेष पहल गर्दै आएका छन्।
उनले युट्युबमार्फत करिब ४०० भन्दा बढी शैक्षिक भिडियो अपलोड गर्दै कम्प्युटर, प्रविधि तथा शिक्षण–सिकाइ सुधारका विषयमा व्यापक जानकारी सम्प्रेषण गरेका छन्। साथै, रेडियो कार्यक्रममार्फत शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वका अनुभव र विचार सर्वसाधारणमा पुर्याउने काम पनि गर्दै आएका छन्।
यिनै योगदानको कदर गर्दै गेटवे एकेडेमीले विश्वराज अर्याललाई यस वर्षको ‘अतुलनीय शिक्षा सम्मान’ प्रदान गरेको जनाएको छ।
कार्यक्रममा वडा ३२ का स्थानीय प्रतिनिधि, शिक्षक, अभिभावक तथा सामुदायिक रेडियोका सञ्चारकर्मीहरूको उपस्थिति थियो।

