काठमाडौँ । विभिन्न संगठन तथा क्षेत्रबाट ३५० भन्दा बढी युवाहरु औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) मा प्रवेश गरेका छन्। राजधानीमा आयोजित विशेष कार्यक्रममा नवप्रवेशी युवाहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक कमरेड माधवकुमार नेपालले हार्दिक स्वागत तथा बधाई व्यक्त गर्नुभएको हो।
कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले युवाहरुले देखाएको भरोसा र योगदानको मनोबलले मजदुर आन्दोलन थप सुदृढ हुने विश्वास व्यक्त गरे। उहाँले संगठनले उठाउने श्रमिकको हक–अधिकार, सामाजिक न्याय र परिवर्तनका एजेन्डामा युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
त्यसैगरी, सह–संयोजक नेपालले नवप्रवेशी युवाको उपस्थितिले संगठनमा ऊर्जा थपिएको बताए। उनले युवा पुस्ताको सक्रियता नै आगामी राजनीतिक परिवर्तन र श्रमिक–मैत्री नीतिको आधार बन्नेमा जोड दिए।
नवप्रवेशी युवाहरुले पनि ANTUF मार्फत श्रमिक अधिकारको संरक्षण, रोजगारीका अवसर विस्तार र सामाजिक न्यायका मुद्दामा संगठित रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा उत्साहजनक सहभागिता, नाराबाजी र सांस्कृतिक प्रस्तुतिसहित स्वागत कार्यक्रम सम्पन्न भएको थियो।

