विश्वविद्यालय दलीय राजनीतिबाट मुक्त हुनुपर्छ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गर्दै प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उच्च शिक्षा क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेपले शैक्षिक गुणस्तरमा निरन्तर असर पारिरहेको बताइन्। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने विद्यमान व्यवस्थालाई परिमार्जन गर्नुपर्ने विषयमा गम्भीर छलफल र गृहकार्य भइरहेको उनले स्पष्ट पारिन्।

‘देशको उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले समस्या बढाएकाले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन संरचनागत सुधार आवश्यक छ।’
उनले दीक्षान्तलाई अन्तिम गन्तव्य नभई ज्ञानलाई मानव विकासका लागि प्रयोग गर्ने नयाँ यात्राको सुरुवातका रूपमा लिन आग्रह गरिन्। प्रविधिको तीव्र परिवर्तन, रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता, नैतिक द्विविधा र विश्वव्यापी अनिश्चितताजस्ता चुनौती सामना गर्न दीक्षित विद्यार्थी सक्षम हुने विश्वास पनि उनले व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको ठूलो संरचना र आकारले मात्र अन्तरराष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने उल्लेख गर्दै प्राध्यापक–विद्यार्थी अनुपात सन्तुलित बनाउने, गुणस्तरीय अनुसन्धान र अन्तरराष्ट्रिय स्तरका शैक्षिक सामग्री प्रकाशनमा जोड दिनुपर्ने बताइन्।
उच्च शिक्षाका लागि ठूलो संख्यामा विद्यार्थी विदेश गइरहेको सन्दर्भमा स्वदेशमै गुणस्तरीय, समयानुकूल र व्यवहारिक शैक्षिक कार्यक्रम थप्न सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने उनको आग्रह थियो।

