काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्वाचन आयोगले तोकेको छ। आयोगले भौगोलिक अवस्थाका आधारमा निर्वाचन क्षेत्रलाई वर्गीकरण गर्दै सुगम र दुर्गम जिल्लामा फरक–फरक खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्र—१, ३, ६, ७ र ८—का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यसैगरी १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा २७ लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् भने ५२ निर्वाचन क्षेत्रका लागि खर्च सीमा ३१ लाख रुपैयाँ निर्धारण गरिएको छ। सबैभन्दा बढी खर्च सीमा २६ निर्वाचन क्षेत्रका उम्मेदवारलाई दिइएको छ, जहाँ अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाइने आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी नाम र विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।
उम्मेदवारले तोकिएको खर्च सीमाभित्र रही निर्वाचन खर्च गर्नुपर्नेछ भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

