काठमाडौँ । देशभरको मौसम सामान्यतया बदली रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात समेत भइरहेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले देशमा पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ। यसका कारण आज दिउँसो र राति पनि अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने र उच्च पहाडी तथा हिमाली भेगमा वर्षा तथा हिमपात जारी रहने अनुमान छ।
महाशाखाले आगामी बिहीबारदेखि ‘मोन्था’ नामक चक्रवातको असर नेपालमा देखिन सक्ने जनाएको छ। बङ्गालको खाडीमा विकसित उक्त चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै नेपाल प्रवेश गर्ने क्रममा रहेको छ।
चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म रहने अनुमान छ। यस अवधिमा वर्षा र हिमपातसँगै बाढी, पहिरो र नदीनालामा आकस्मिक बहावको जोखिम रहने चेतावनी दिइएको छ।
कोशी र बागमती प्रदेशका उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ। वर्षासहितको हिमपातका कारण बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
महाशाखाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै भने— “महाभारत, चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्क रहनु जरुरी छ।”

